×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत छैन : विष्णु पौडेल

प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत छैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको बताएका हुन् ।

पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको स्मरण गराए ।

उनका अनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको पौडेलको तर्क थियो ।

उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे ।

‘त्यतिबेला प्रचण्डजीले सेनाप्रमुख हटाएर आफ्नो अनुकूलको मान्छे राख्दै सत्ता कब्जा गर्ने रणनीति बुन्नुभएको थियो । हामीले उहाँलाई ‘यो बाटो आत्मघाती हुन्छ’ भनेर पटकपटक सम्झायौँ तर उहाँले मान्नुभएन,’ पौडेलले भने, ‘उहाँले ‘म अगाडि बढिसकेँ, अल्झाउने काम नगर्नुस्’ भनेर निकै कडा जवाफ दिनुभएको थियो ।’

उनले अहिले माओवादी सङ्गठनको अस्तित्व समाप्तप्रायः भएको दाबी गरे ।

‘प्रचण्डले नेतृत्व गरेको भनिएको माओवादी अहिले माओवादी छैन । उसले माओवाद परित्याग गर्‍यो, जनयुद्ध परित्याग गर्‍यो र हिजोका उग्रवामपन्थी धङधङीबाट अलग भयो,’ पौडेलले थपे, ‘तर ठिक ढङ्गले हिँड्न नसक्दाखेरि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत त्यो सङ्गठन र नेतृत्वसँग छैन । माओवादी सिध्याइएको छ ।’

प्रतिकृया दिनुहोस्