×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताएका छन् । सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नक्कल गर्ने विषय पनि नभएको बताए ।

‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउने होइन जगबाटै उमार्ने र निर्माण गर्न कुरा हो’,  प्रचण्डले भने– ‘उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’

उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए ।  ‘हरेक विषयको नक्कल गरेर होइन, हाम्रै जग, विशेषता र इतिहासमा हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुछ’, प्रचण्डको भनाइ छ ।

उनले समाजवादप्रति आस्था राख्ने सबैलाई घिमिरेको पुस्तक पढ्न र चिन्तन मनन गर्न विशेष अपिल गर्दै उक्त पुस्तकले समाजवादबारे नयाँ बहस सुरु गरेको बताए । ‘समाजमा समाजवादबारे तीन धारणा रहेका छन् । एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो अनुभववादी तरिकाले हेर्ने । र तेस्रो व्यवहारवादी धारणा’, प्रचण्डले भने– ‘त्यसमध्ये आफू र सोमत घिमिरेले भनेको तेस्रो धारणा हो ।’

कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्ध देशव्यापी चलाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेता र पार्टीहरूले सत्तामा जाँदा इतिहास भुल्ने गरेकाले नेपाल र नेपालीले अहिले दुर्दशा भोग्नुपरेको बताए । 

‘हामी राजनीतिज्ञ, कर्मचारी र उद्योगपति सबैले अप्ठेरोमा यो देशलाई पारेका छौ’, उनले प्रचण्डलाई जनताको कल्याण र हितका निम्ति बोल्न आग्रह गर्दै नेपालमा १०१ जना भन्दा बढीको संसद् आवश्यक नभएको बताए । ‘यो संसद् र मन्त्री सङ्ख्या घटाउने र मुलुकको पैसा विकासमा लगाउने गर्नुपर्छ ।’

भण्डारीले सीमान्तकृतका नाममा हुनेखाने र पहुँच भएकाहरू संसद् मन्त्री बनेको भन्दै त्यसकैका लागि माओवादीले जनयुद्ध गरेको हो रु भनेर प्रश्न गरे । भण्डारीले देश बनाउने कुरामा मन पग्लिन्छ भनेर सधैँ कमलो मन नबनाउन प्रचण्डलाई आग्रह गर्दै मुलुक बनाउने दृढताका साथ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक समेत रहेका सन्तोष परियारले पुँजीवाद चरम सङ्कटमा परेको बताए । उनले विश्वमा पुँजीवाद चरम सङ्कटमा परे पनि कसैले भन्न नसकेको बताए । ‘हामीले त्यसलाई सङ्कट भन्न सकेका छैनौ । तर सोमत घिमिरेले पुस्तकमा तर्क र तथ्यसंगत पुँजीवाद निर्मम र हिंस्रक छ भनेर भन्नुभएको छ’, परियारको भनाइ छ ।

उनले समस्या पुँजीवादमा मात्र नभएर समाजवादी हुँ भन्नेमा पनि रहेको बताए । ‘हामी चिन्तनमा सामन्तवाद, व्यवहारमा पुँजीवाद तर बोलीमा समाजवाद भन्ने पर्‍यौ भनेर पुस्तकमा सोमतजीले औला ठड्याइदिनुभएको छ’, परियारको भनाइ छ ।  

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपालमा ससाना उद्योग प्रवर्द्धन गर्न सामुदायिकरण गर्ने सन्दर्भमा सरकार र राजनीतिक दलहरू पछि हटेको बताइन् । ‘छापेर ल्याएको किताबभन्दा यहाँ छापिने कापी नै महँगो हुन्छ’ झाँक्रीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्