काठमाडौं । आठवटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । फागुन महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूको ब्याजदर समायोजन गरेका हुन् ।
सबै बैंकले मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याज दर घटाएका छन् । त्यसमध्ये चारवटाले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याज दर घटेको छ ।
यसपटक ग्लोबल आईएमई बैंकले व्यक्तिगत संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले घटाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । योसँगै बैंकले अधिकतम ४.५ प्रतिशत र ३.५ प्रतिशत ब्याजदर कायम भएको छ ।
नेपाल एसबीआई बैंकले पनि ब्याजदरलाई घटाएर ०.१५ र ०.०३ प्रतिशत विन्दुले घटाएको छ । अब यो बैंकले व्यक्तिगत र संस्थागततर्फ अधिकतम ४.२५ र २.७७ प्रतिशत ब्याजदर तोकेको छ । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा अधिकतम ब्याजदर ४.२५ प्रतिशत र ३.५ प्रतिशत कायम भएको छ ।
प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकले समान ०.१५ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।
कुन बैंकको ब्याजदर कति ?
यो गिरावटसँगै व्यक्तिगत मुद्दती खातामा अधिकतम ५.१ प्रतिशत र संस्थागत मुद्दती खातामा अधिकतम ४ प्रतिशत ब्याजदर पाइन्छ । व्यक्तिगत निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा धेरै अधिकतम ब्याजदर तोक्दा हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले समान ५ प्रतिशत, ग्लोबल आईएमईले समान ४.७५ प्रतिशत, प्रभु र नबिल बैंकले समान ४.५५ प्रतिशत ब्याज दर तोकेका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले ४.५ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशत र बाँकी बैंक स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबीआई, एभरेस्ट र सिद्धार्थ बैंकको ब्याजदर ४.२५ कायम भएको छ ।
अर्कोतिर, संस्थागत मुद्दती खातामा अधिकतम भने ४ देखि २.७५ प्रतिशतसम्म रहेको छ । हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिनेगरी दर तोक्दा नबिलले ३.५५, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, कुमारी, एभरेस्ट र सिद्धार्थ बैंकको ब्याजदर ३.५ प्रतिशत रहेको छ ।
त्यस्तै, सानिमा बैंक ३.३ प्रतिशत, लक्ष्मी सनराइज बैंक र नेपाल बैंकको ३.२५ प्रतिशत, माछापुच्छ्रे र सिटिजन्स बैंकको ३ प्रतिशत तथा नेपाल एसबीआईको २.७७ प्रतिशत र प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम कमर्सियल बैंकको संस्थागत मुद्दती निक्षेपको ब्याजदर २.७५ प्रतिशत छ ।
बजारमा तरलता पर्याप्त भएको र ऋणको माग नबढेको अवस्थामा बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको हो । अहिले पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन रुपमा निक्षेप संकलन उपकरणहरू जारी गरिरहेको छ ।
यस्तो उपकरणको ब्याज दर २.७५ प्रतिशत हुने र त्यस भन्दा तल ब्याज दर झार्न नपाउने व्यवस्था अनुसार केही बैंकले संस्थागत मुद्दती खाताको ब्याज दरलाई न्यूनतम विन्दुमा झारेको छ ।