×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका पाँच कम्युनिस्ट पार्टीहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विभिन्न पाँच साना कम्युनिस्ट पार्टी सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघ २० गतेदेखि फागुन ३ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्तिअनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत पर्चा वितरण, भित्तेलेखन, घरदैलो अभियान तथा कोणसभाहरू आयोजना गरिनेछन् । माघ १७ गते बसेको समितिको बैठकले तय गरेका यी कार्यक्रमहरूको मूर्त योजना र कार्यान्वयन भने स्थानीय संयुक्त संघर्ष समितिहरूले गर्ने जनाइएको छ ।

समितिले वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै स्वाधीन संयुक्त जनसरकार गठन तथा जनसंविधान निर्माणको संघर्षलाई अघि बढाउन निर्वाचन बहिष्कार गर्नुपर्ने निष्कर्ष निकालेको छ । विज्ञप्तिमार्फत समितिले देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिसहित आम मजदुर, किसान, कर्मचारी तथा राष्ट्रिय पुँजीपति वर्गलाई समेत बहिष्कार अभियानमा साथ दिन अपिल गरेको छ ।

यसैबीच, समितिले निर्वाचन बहिष्कार अभियानका क्रममा आफ्ना नेता पक्राउ परेको भन्दै आपत्ति जनाएको छ । अभियानकै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सिन्धुलीको दुधौलीबाट प्रहरीले गिरफ्तार गरेको भन्दै समितिले उनको तत्काल रिहाइको माग समेत गरेको छ ।

संयुक्त संघर्ष समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी ९जनपक्ष० आबद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्