भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिएका छन् ।
संविधान र कानुनको व्यवस्था विपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने उनको भनाइ छ ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समय सीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताए ।
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समय तालिकाबारे छलफल गरेको जानकारी दिँदै उनले त्यसक्रममा निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको उल्लेख गरे ।
केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषय उठेको भए पनि संविधान र कानुनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही समय सीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने दाहालले बताए ।
स्थानीय र प्रदेश सरकारलाई संविधान तथा कानुनले दिएको पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्नेमा उनको जोड छ । एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए त्यसले अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने दाहालले चेतावनी दिए ।