लन्डन । अमेरिका र इरानबिच शान्ति सम्झौता हुन लागेको सकारात्मक सङ्केतहरू बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ।
मुख्य मुद्दाहरूमा अझै पनि दुई देशबिच मतभेद कायमै रहे तापनि सकारात्मक वार्ताले बजारमा उत्साह ल्याएको हो। विशेष गरी स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौताको आशाले मूल्य घटाउन मद्दत गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.७१ डलर अर्थात् ४.५५ प्रतिशतले घटेर ९८.८३ डलरमा झरेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि प्रतिब्यारेल ४.५७ डलर अर्थात् ४.७३ प्रतिशतले गिरावट आउँदै ९२.०३ डलर कायम भएको छ। दुवै प्रकारका कच्चा तेलको यो मूल्य गत मे ७ तारिखपछिकै सबैभन्दा न्यून हो।
गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबिच शान्ति सम्झौताको समझदारी पत्रमा ‘धेरैजसो बुँदामा सहमति’ भइसकेको बताएका थिए। यो सम्झौता लागू भएमा होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ। हाल जारी द्वन्द्व सुरु हुनुअघि विश्वभर आपूर्ति हुने कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गर्थ्यो। तर जटिल मुद्दाहरूमा दुवै पक्ष अझै स्पष्ट भइनसकेका कारण आइतबार मात्रै ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको स्पष्ट पारेका थिए।
एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकले सम्झौता र होर्मुज जलमार्ग खुला गर्ने विषयमा अझै कयौँ जोखिम र चेतावनीहरू कायमै रहे पनि लामो सुरुङको अन्त्यमा केही उज्यालो देखिएको टिप्पणी गरेका छन्। उनले यस सकारात्मक विकासले अल्पकालीन रूपमा भए पनि तेलको मूल्यमा राहत मिल्ने बताए।
यद्यपि अन्य बजार विश्लेषकहरूले भने जलमार्ग खुला भए पनि उक्त क्षेत्रबाट तेलको प्रवाह पुरानै अवस्थामा फर्कन र द्वन्द्वका कारण क्षतिग्रस्त भएका तेल तथा ग्यासका संरचनाहरू मर्मत हुन अझै केही महिना लाग्ने अनुमान गरेका छन्।