मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाली टोली आज सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै १२ वर्षदेखिको जितको खडेरी तोड्दै जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा पनि नेपाल हुनेछ ।
नेपालले सन् २०१४ मा अफगानिस्तानसँगको विश्वकप खेल जितेयता टी-२० विश्वकपमा कुनैपनि खेल जित्न सकेको छैन । सन् २०२४ मा समूह चरणमा तीन वटा खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण हुन सकेको थिएन।
यस संस्करणमा पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेपनि जितको नजिक पुगेर पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा एकपक्षीय रूपमा पराजित भएको थियो ।
नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको बताएका छन् ।
‘विश्वकप राम्रो अनुभूति र केही सकारात्मक पक्षसहित सकाउन चाहन्छौं। अगाडि एकदिवसीय क्रिकेट सुरु हुँदैछ, त्यसका लागि पनि लय आवश्यक छ’ स्कटल्यान्डसँगको खेलअघि आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा उनले भनेका थिए ।
यस्तै पोथसले नेपाली टोलीबाट बारम्बार एउटै गल्ती भइरहेको उल्लेख गर्दै त्यो कुरामा सुधार आवश्यक रहेको बताए । स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल देखाउनुपर्छ र एउटै गल्ती पटक–पटक दोहोर्याउनु हुँदैन’ उनले भने।