काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे’ जस्ता चर्का नाराबाजी गरेका थिए। देशको सार्वभौमसत्ता र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट गैरजिम्मेवारपूर्ण भनाइ आएको भन्दै प्रदर्शनकारीहरूले तत्काल माफी माग्नुपर्ने वा पदबाट मार्गप्रशस्त गर्नुपर्ने माग राखे। विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री विरुद्ध विभिन्न प्लेकार्ड र ब्यानरहरू समेत प्रदर्शन गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले सीमा विवादका विषयमा देशको अडान स्पष्ट र बलियो हुनुपर्नेमा सरकार प्रमुखबाटै विवादास्पद अभिव्यक्ति आउनु निन्दनीय भएको बताएका छन्।