काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाहसँग उनले मंगलवार भेटघाट गर्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ । गत महिना एडिबी अध्यक्ष बंगलादेश भ्रमणमा जाँदा त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए ।
एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले बतायो । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।
साथै, काण्डाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकाससम्बन्धी दुई सहयोगमा हस्ताक्षर पनि हुने जानकारी अर्थ स्रोतले दियो ।
नेपाललाई सहयोग गर्ने बचन
नेपाल एउटा निर्णायक घडीमा रहेको बखत खाफू काठमाडौं आइपुगेको अध्यक्ष काण्डाले बताएका छन् ।
सोमबार विहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’
नेपालले नयाँ अध्याय शुरु गर्दै गरेको अवस्थामा त्यसमा नेपालाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूले छलफल गर्ने पनि उनले उल्लेख गरेका छन् ।
‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दैछ, यो भ्रमणलाई मैले विगत ६ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा देशको अर्को अध्यायलाई एडीबीले कसरी सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रुपमा लिएको छु ।’