जाजरकोट। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ।
प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाइएको हो।
पहिरोको जोखिममा रहेका तथा विस्थापित स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ। विद्यालयमा आश्रय लिएका पीडितको स्वास्थ्य परीक्षणसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
मुख्यमन्त्री मंगलबहादुर शाहीले तत्कालका लागि आवश्यक राहत सामग्री पठाइएको र थप आवश्यकता तथा मागका आधारमा राहत वितरणलाई निरन्तरता दिइने बताए। शनिबारदेखि प्रभावित क्षेत्रमा पीडितहरू कठिन अवस्थामा रहेको र रातभर त्रासमा बस्नुपरेको बताउँदै उनले सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आइतबार बिहान उद्धार गरिएको जानकारी दिए।
पहिरोमा आफन्त गुमाएका तथा घाइते भएकाहरूलाई प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गरिने मुख्यमन्त्री शाहीले टेलिफोनमार्फत बताएका छन्।
प्रहरीका अनुसार रिसाङ क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेका करिब ७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।
हालसम्म पहिरोमा परी चार जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ। घटनाका कारण धेरै घरमा क्षति पुगेको छ।
यसैबीच, आइतबार बिहान मुख्यमन्त्री शाहीसँग राष्ट्रियसभा सदस्य माया प्रसाद शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंहलगायतले रिसाङमा भएको जनधनको क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका थिए। सरकारले प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी थप राहत तथा पुनःस्थापनाका काम अघि बढाउने जनाएको छ।