×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

हङकङ टी-२०आई शृंखला : नेपालको कीर्तिमानी जित

हङकङ टी-२०आई शृंखला : नेपालको कीर्तिमानी जित

काठमाडौं । कुशल भुर्तेलको लगातार दोस्रो खेलमा आक्रमक ब्याटिङ अनी दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङमा नेपालले हङकङ टी-२०आई शृखलामा कुवेतमाथि ६ विकेटको कीर्तिमानी जित हात पारेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो  ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

यो साझेदारी पनि नेपालको टी-२०आईमा सर्वाधिक रनको ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

भुर्तेलले लगातार दोस्रो खेलमा अर्धशतक बनाउने क्रममा ५० बल खेल्दै  समा ६ चौका र छक्का मद्दतमा ८१ रन बनाए । आसिफले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । दीपेन्द्रले २ चौका र ३ छक्का प्रहार गरे । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।

राम्रो सुरुवात गर्दै १० ओभरभित्रै २ विकेट गुमाएर ९७ रन जोडेको कुवेतले २०० बनाउने संकेत देखाएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा २०० को आँकडा भने छुन सकेन ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोली हङकङसँग शनिवार खेल्नेछ ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा  नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । एक जित र एक हारबाट २ अंकसहित कुवेत दोस्रो स्थानमा छ । कुवेतले पहिलो खेलमा हङकङला२ पराजित गरेको थियो । आजै हङकङ र कतारबीच खेल हुँदैछ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्