×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ

देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ ।

गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्रदेशगत तथ्यांकलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ ।

तथ्यांकअनुसार सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ । यो भनेको कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो ।

गत वर्ष यहाँ यसै अवधिमा ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो । सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७।३ प्रतिशतमा मात्र रोपाइँ भएको छ । यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम हो ।

बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३।२ प्रतिशत मात्र रोपाइँ भएको छ । बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ ।

तथ्यांकअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक छ। देशमै सबैभन्दा धेरै अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असार तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको जम्मा १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो । गत वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो ।

प्रतिकृया दिनुहोस्