×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । केहीबेरअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् ।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको एक सांसदले दाबी गरे ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि कांग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएका थिए ।

बागमतीको मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेको छ । बहादुर सिंह लामाको बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको सांसदहरू बताउँछन् ।

देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बोलाएर छलफल गरेको थिए । उनले राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको देउवासँग भेट गरेका एक मन्त्रीले जानकारी दिए ।

लामा मुख्यमन्त्री नछोड्ने अडानमा छन् । नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणापछि बानियाँ पक्ष अविश्वासको प्रस्ताव लैजाने मनस्थितिमा पुगेको जनाइएको छ ।
१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

प्रतिकृया दिनुहोस्