भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सीटीईभीटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअन्तर्गत देशभरिका करिब २,२०० करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।
उनीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने माग राखेका छन् ।उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्।
लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।
करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समिति सह–संयोजक इ. युकेश गौतमले साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि पूर्वघोषित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताए ।
उनले कर्मचारीका मागहरू वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वको माग गरे ।