सुर्खेत । भारतको उत्तराखण्ड राज्यमा ‘क्लाउड ब्रस्ट’का कारण आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटका एकै परिवारका ५ जनासहित ७ जना नेपालीको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुराकानीमा उक्त घटनामा ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार मृत्यु हुनेमा कुशे गाउँपालिका—२, डोब्री पिपलधाराका ५ जना रहेका छन् । मृत्यु हुनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेका छन् ।
यस्तै जुम्लाको तातोपानी गाउँपालिका, कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि सोही घटनामा मृत्यु भएको बस्नेतले रातोपाटीलाई बताए । ‘रुकुम पश्चिमका मृतकको नाम नखुले पनि उनी मृतक मानबहादुर सिंहका ज्वाइँ हुन्,’ उनले भने ।
घटनामा ज्यान गुमाएका मानबहादुर सिंहका छोरा नवीन सिंह उक्त घटनामा बाँच्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार बाँच्न सफल नवीनले म्यासेन्जरमार्फत आफन्तलाई खबर गरेपछि घटनाबारे यकिन भएको हो ।
बस्नेतले भने– ‘पानी परेर काम नभएपछि उनीहरू खाजा खान भनेर बजार झरेका रहेछन् । बाँचेका केटा (नवीन सिंह) केही पर क्यारेमबोर्ड खेल्दै रहेछन् ।’
बाढी आएपछि क्यारेमबोर्ड खेल्नेहरू भागेर बाँचेछन् । उनी फर्केर हेर्दा पूरै बजार नै बगाइसकेको र घरहरू नभएपछि त्यहाँ रहेका मानिसहरूको पनि मृत्यु भएको निष्कर्ष निकालिएको उनको भनाइ छ । सिजनअनुसार काम गर्न भारत जाने उनीहरू धान रोपाइँ सकिएपछि असार–श्रावणमा उत्तराखण्ड रोजगारीका गएका थिए । यस्तै अझै केही व्यक्ति बेपत्ता भएको उनको भनाइ छ ।
उनले बेपत्ताहरूको उद्धार र खोजीका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन् । अहिले त्यहाँ भारत सरकारकाले नेट, इन्टरनेटहरू बन्द गरेकोले सम्पर्क गर्न गाह्रो भएको बस्नेत बताउँछन् ।