काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन सञ्चालनमा कडाइ गरिने भएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको ‘विकास सहजीकरण बैठक’ले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार, उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ । त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ । तर, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत् रूपमै सञ्चालन हुन पाउनेछन् ।
सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुखले बैठकमा बाँकी काम गर्ने क्रममा एक लेन सडक बन्द गर्नुपर्ने र एक लेनमा मात्र सवारी चलाउनु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।
सवारी साधनहरूलाई वैकल्पिक मार्ग (डाइभर्ट) गर्न सहयोगका लागि सडक डिभिजन कार्यालयका प्रमुखले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । यस सम्बन्धी सर्वसाधारणलाई जानकारी दिन आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी पनि डिभिजन सडक कार्यालयलाई नै दिइएको छ ।
