×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाले राजीनामा दिएका छन् । उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।

‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’

भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । तर एमालेले घर फर्क अभियान घोषणा गरेर रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई भित्राएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए ।

त्यसैदिन कडरियाले वक्तव्य जारी गरेर जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अरु सबै नेताहरुलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए ।

कडरियालाई केही पदाधिकारीले जुलुस सहित केन्द्रीय कार्यालयमा लगेका थिए । र, कार्यालयमै अध्यक्ष कडरियाले सम्बोधन समेत गरेका थिए ।

लगत्तै, महासचिव दीपक धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेका थिए ।

यो विवाद सतहमा आएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । सोही अनुसार आज बसेको केन्द्रीय समिति बैठकबाट कडरिया अध्यक्ष पदबाट बिदा भएका छन् र त्यो जिम्मेवारी धामीले सम्हालेका छन् ।

प्रतिकृया दिनुहोस्