×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् । अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ । आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।

तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।

स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

‘छानबिन समिति वा संयन्त्र भन्ने छलफल चलिराखेको छ,’ उनले भने, ‘सत्तापक्ष नै छानबिन समिति भन्नेमा तयार नहुँदा आजको संसद् चल्ने वा नचल्ने अनिश्चित भएको छ ।’

विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भएका छन् । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।

प्रतिकृया दिनुहोस्