काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ’ सभामुख अर्यालले भने ।
उनले अगाडि भनेका छन्, ‘माननीय सदस्यहरूद्धारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सन्दर्भमा जवाफ दिन साथै देशका बिभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सोमबार प्रतिनिधिसभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना गरेका थिए ।
यो विषयमा सत्तारुढ दलबाट समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग उठेको थियो ।
रास्वपाका सांसद रमेश प्रसाईं भनेका थिए, ‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’
यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो ।
उनले भनेका थिए, ‘भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के-के छन् ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’
प्रतिपक्ष र सत्तापक्ष दुवैतिरबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् ।